काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा अहिले जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा पहिलो हाफको खेल सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गर्न सकेनन् ।
लिगको तेस्रो चरणको खेल जारी रहदा जावलाखेल निकै कमजोर देखिएको छ । किनकि जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरीसकेका छन् ।
लिगको सुरुवाती दुई खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको जावलाखेल पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा १० खेलाडीमा सिमित संकटासँग २–० ले पराजित भएको थियो ।
अंकबिहिन जावलाखेल लिगको पुछारमा छ । त्यसैले तेस्रो खेलमा मैदान उत्रदा भने जावलाखेल अंक जोड्ने लक्ष्यमा हुनेछ । जसका लागि जावलाखेलले आफ्नो सम्पूर्ण अश्त्र प्रयोग गर्नेछ ।
यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पा दोस्रो जितका लागि खराब लयबाट गुज्रिरहेको जावलाखेललाई शिकार बनाउने योजनामा हुनेछ ।
हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपीएफसंग बराबरी खेल्दै अंक बाडेको थियो । यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । लिगमा ४ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा रहेको छ ।