काठमाडौं । बिदेशी खेलाडीको प्रभावमा सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले हराएको हो ।
सरस्वतीको जितमा तीनै गोल बिदेशी खेलाडीले गरे ।
हलचोक मैदानमा पहिलो हाफमा १–० को अग्रता बनाएको सरस्वतीले दोस्रो हाफमा २ गोल थप्यो । १३ औ मिनेटमा सरस्वती युथ क्लबले खेलमा अग्रता लिएको हो । डिफेन्सलाई बिट गर्दै अफ्रिकन खेलाडी भिक्टोरले हानेको प्रहारले पोस्टको जाली चुमेको थियो ।
७३ औ मिनेटमा सरस्वतीले दोस्रो गोल गर्यो । बिदेशी खेलाडी ईब्राहिमले सरस्वतीलाई २–० को अग्रता दिलाए । खेल सकिन ७ मिनेट बाँकी छदाँ साचिईले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।
जितपछि सरस्वतीले लिगमा पहिलो जित दर्ता गर्दै ३ अंक जोडेको छ । उसले पहिलो खेलमा संकटा र दोस्रोमा हिमालयन शेर्पा क्लबसंग पराजय ब्यहोरेको थियो ।
फ्रेन्ड्सले लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ । उसले पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसंग पराजित भएको थियो ।