काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज (शनिबार) ललितपुरे क्लब फ्रेन्ड्स र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने फ्रेन्ड्स र सरस्वतीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य जित हुनेछ ।
लिगको अघिल्ला दुई खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । त्यसैले दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । किनकी लिगका अघिल्ला दुई खेल हेर्दा दुवै टोलीको औषत प्रदर्शन समान रहेको छ ।
लिगको पहिलो खेलमा फ्रेन्ड्स रुस्लान थ्री स्टार क्लबसँग २–१ ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा विभागीय टोली एपीएफसँग १–० गोलले पराजित भएको थियो । एपीएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि फ्रेन्ड्स अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भएको थियो ।
यस्तै सरस्वती लिगको पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १ – ० ले नै पराजित भएको थियो ।
जारी लिगमा अंक जोड्न नसकेको फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ । यस्तै सरस्वती १३औं स्थानमा रहेका छन् ।