काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।शुक्रबार भएको खेलमा आर्मीले विभागीय डर्बी क्लब नेपाल पुलिस क्लबलाई १ - ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टेक बहादुर बुढाथोकीको निर्णायक गोलमा आर्मीले महत्वपूर्ण ३ अंक जोडेको हो ।
आर्मीका लागि पहिलो हाफको ३० औं मिनेटमा टेक बहादुरले निर्णायक गोल गरेका हुन् । उनले टंक बस्नेतको पास सदुपयोग गरेका थिए ।
दोस्रो हाफमा पुलिस खेलमा फर्कने कोसिस गरेपनि सफल भएनन् । पुलिसको केहि उत्कृष्ट आक्रमण आर्मीका किपर र डिफेन्सले बचाऊ गरेका थिए । दोस्रो हाफमा पुलिसका कप्तान सन्तोस लामाको उत्कृष्ट हेड प्रहार आर्मीका डिफेन्डरले गोललाइनबाट बचाएका थिए ।
खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए ।
यो जितसंगै आर्मीले ३ खेलबाट ७ अंक जोडेको छ । तेस्रो खेलमा आर्मीको यो दोस्रो जित हो ।
यता, पुलिसको यो पहिलो हार हो । पुलिसले ३ खेलबाट ४ अंक जोडेको छ । पुलिसले अघिल्ला दुई खेलमध्ये एक खेलमा बराबरी र एक खेलमा जित निकालेको थियो ।