पोखरा । तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ६ देखि ९ गते सम्म पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले सहभागिताका लागि १ हजार ३ सय खेलाडीहरुको नाम दर्ता गरिसकेको बताए । संघले अपेक्षा गरेभन्दापनि बढी खेलाडीहरुले नाम दर्ता गरेकाले निर्धारित समय भन्दा अगाडि नै रजिष्टे«शन बन्द गर्नुपरेको पनि उनले स्पष्ट पारे ।
संघका केन्द्रीय महासचिव दिपराज गुरुङले नेपालसहित विश्वका १३ भन्दा बढी देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने बताए । जी–२ लेभलको प्रतियोगितामा नेपालका कुल २ सय ६० जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रका खेलाडीहरुको बढी सहभागिता रहने महासचिव गुरुङले बताए । प्रतियोगिता अन्तर्गत खेलाडीहरुले ¥याङकिङ प्राप्त गर्नेछन् । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने आयोजकको अनुमान छ ।
तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी मेडल जित्न सफल खेल समेत हो । विश्वका २ सय १६ देशहरुमा तेक्वान्दो संघ रहेको छ ।