काठमाडौं । मध्यपुर थिमी न.पा. ७ की सर्मिला के.सी. र ४ की कृषा श्रेष्ठ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन् ।
शुक्रबार भएको सेमिफाईनलमा के.सी.ले थिमी ८ की संजिला बुढालाई २१–५, २१–८ ले तथा कृषाले थिमी १ की स्वर्लिन श्रेष्ठलाई २१–११, २१–१९ ले पराजित गर्दै उपाधीका लागि भिड्ने भएका छन् ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यविनायक न.पा. ८ का आयुष प्रजापती र ३ का रमेश बस्नेत फाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रजापतीले भक्तपुर न.पा. २ का रेश्वत सुवाललाई २१–११, ११–२१, २१–१८ ले पराजित गर्दै फाईनलमा रमेशसंग सामना निश्चित गरेका हुन् । रमेशले चाँगुनारायण न.पा. २ का श्रृयांश कटुवाललाई २१–९, २१–१३ ले पराजित गरे ।
युगल तर्फ थिमी ७ का अशोक अधिकारी र महेश कार्कीको जोडी तथा थिमी ७ का भिम राज कार्की र साजन न्यौपानेको जोडीले फाईनलमा स्थान पक्का गरे । अशोक र महेशको जोडीले सूर्यविनायक ४ का केशव कार्की र नवराज सापकोटाको जोडीलाई १२–२१, २२–२०, २१–१४ को कठिन जित निकाले । यस्तै भिम र साजको जोडीले सूर्यविनायक ३ का दीपक खत्री र लेखनाथ पराजुलीको जोडीलाई २१–१४, १८–२१, २१–१९ ले पराजित गरे ।
यसैगरि भेट्रान ४५ बर्षका युगलमा मध्यपुर थिमी ८ का पूर्णहरि होना र प्रेम भक्त ज्यानाको जोडीले थिमी १ का सन्तमान द्वारे र सुमन खड्काको जोडीलाई ११–२१, २१–१४, २१–१७ ले पराजित गर्दै उपाधीका लागि थिमी ३ का भिम गिरी र देन लामाको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र लामाको जोडीले थिमी १ का दीपक खनाल र मनिष पराजुलीको जोडीलाई २१–१६, २१–१७ ले पराजित गरे ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भईरहेको छ ।