काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलमा च्यासल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुदैछ । एन्फा टेक्निकल सेन्टर सोतदोबाटोमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।
लिगमा दुबै क्लब पहिलो जितको खोजीमा छन् । राष्ट्रिय टिमका खेलाडीले भरिएको च्यासललाई युवा खेलाडीको बाहुल्यता रहेको एनआरटीले चुनौती दिनेछ । राष्ट्रिय टिमका हेमन्त थापा मगर, विमल घर्ती मगर, डिफेन्डर देबेन्द्र तामाङ सहित भर्खरै जापानबाट आएका सन्तोष साहुखलको आगमनले च्यासल बलियो देखिएको छ ।
सन्तोषले आर्मीविरुद्व गरेको प्रर्दशनबाट च्यासल प्रभावित छ । ‘हामीले सोचेको भन्दा राम्रो प्रर्दशन सन्तोषले गरेको छ । हामी उनको प्रर्दशनमा ढुक्क छौ ।’ च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले भने । उनले च्यासलले तीन अंकका लागि एनआरटीसंग प्रतिस्पर्धा गर्ने प्रष्ट पारे ।
‘हामी तीन अंकका लागि खेल्नेछौ । आर्मीविरुद्व सोचेको जस्तो खेल भएन । लगातारको खेलसँगै मौसमले पनि साथ दिएन ।’ उनले कारण खुलाए ।
पहिलो खेलमा मछिन्द्रसँग बराबरीमा रोकिएको च्यासल दोस्रो खेलमा आर्मीसँग १–० ले पराजित भएको थियो ।
यता, उमेर समुहका खेलाडी समावेश गर्दै टिम तयार गरेको एनआरटीले उद्घाटन खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा मनाङसँग भने २–० ले पराजित भयो ।
युवा खेलाडीको राम्रो साथ पाएको एनआरटीले लिगमा जित निकाल्न असफल भएको छ । सुरुवाती खेलमै बलिया टोलीसंग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्दै क्लबले आगामी खेलमा प्रर्दशनसंगै नतिजासमेत निकाल्ने दाबी गरेको छ ।