काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको तेस्रो चरणको खेल आज सुरु हुदैछ । तेस्रो चरणको खेलको सबैभन्दा रोमाञ्चक भिडन्तमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले खेल्नेछन् ।
घरेलु फुटबलको सबैभन्दा ठुलो खेलले एकहदसम्म लिगको आगामी अंक गणितिय समिकरणका बिषयमा धेरै चिज बोल्नेछ । दुवै टोली प्रतियोगितामा अपराजित छन् ।
थ्री स्टारले प्रतियोगिताको लय समात्दै गर्दा मनाङलाई भने स्टार खेलाडीको चोटले सताएको छ । दुई क्लबबीचको भिडन्त दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ ।
तेस्रो चरणसम्म आईपुग्दा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण केही साता मैदान बाहिर रहेनछन् । दोहोरो पहेलो कार्डका कारण ओलावाले अफिजले थ्री स्टारविरुद्वको खेल गुमाउनेछन् ।
यता, थ्री स्टार कप्तान बिक्रम लामाको आगमनसंगै लयमा देखिएको छ । ब्रिगेड ब्वाईजविरुद्व प्राप्त फराकिलो जित त्यही कुराको संकेत गर्छ । राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्री स्टारले मनाङविरुद्वको खेल गुमाउन नसकिने बताएको छ ।
सुनिल वल, निराजन खड्का, बुद्व चेम्जोङ, रुपेश केसीले पछिल्लो समय उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । मनाङको अग्रपङ्तीलाई रोक्न पिटर सेगुनको डिफेन्स लाईन सक्षम रहने थ्री स्टारको विश्वास छ ।
बिहिबार हुने पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन् ।
दुवै टोलीले एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै तालिकाको पुछार तिर छन् । च्यासल नवौ स्थानमा रहदाँ एनआरटी १० औ स्थानमा छ ।