काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत भोली (शुक्रबार) दुई ठुला क्लब सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्दैछ ।
लिगको तेस्रो चरण अन्तर्गत हुने मनाङ र थ्री स्टारबीचको खेल दिउसो साढे २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । र, उपाधि दाबेदार मनाङ र थ्री स्टार स्पष्ट ३ अंक जोड्ने लक्ष्यमा हुनेछ ।
लिगको दोस्रो चरण सकिदा थ्री स्टार ६ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ ६ अंक जोडेर दोस्रो स्थानमा छ । दुवैले अघिल्ला दुई खेल जितेका छन् । तेस्रो चरणको खेलमा एक अर्काविरुद्ध मैदान उत्रदा दुवै टोली तेस्रो जितको खोजीमा हुनेछ ।
'थ्री स्टार राम्रो टिम हो । हामी बराबरी जस्तै छौं,' शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, 'हामी ३ अंकको लागि खेल्ने छौ । नत्र १ अंक भए पनि पाउने छ । उनीहरु पनि निकै राम्रो छ । तर, हामी जित्छौ जस्तो लाग्छ ।'
तर, थ्री स्टारविरुद्ध मैदान उत्रदा मनाङलाई खेलाडीको चोटले सताएको छ । मनाङका पहिलो रोजाईका दुई खेलाडी घाइते छन् । कप्तान सुजल श्रेष्ठ र प्रकास बुढाथोकीको चोटले मनाङलाई गार्हो हुनेछ ।
यस्तै मुख्य स्ट्राइकर आफिज ओलावाले थ्री स्टारविरुद्धको खेलमा हुने छैनन् । ब्रिगेड ब्वाइजसंगको खेलमा पहेलो कार्ड खाएका उनले एनआरटीसंग समेत कार्ड पाएका थिए । लगातार दुई पहेलो कार्डका कारण उनी एक खेलको निलम्बनमा छन् ।
तर, मनाङका प्रशिक्षक श्रेष्ठले सब्सिच्युड खेलाडी राम्रो रहेको बताउदै टिमलाई गाह्रो नहुने बताए । प्रशिक्षक श्रेष्ठले थ्री स्टारविरुद्ध खेल्ने रणनीतिमा परिवर्तन गर्ने समेत बताए ।
'सेटको दुई खेलाडी घाइते र एकले कार्ड पाएको छ । तर, सब्सीच्युड खेलाडी पनि राम्रै छन् । हामीलाई गाह्रो हुन्छ । तर, हामी कभर गर्छौ । खेलाडीहरुलाई मोटिभेसन गरिरहेका छौं,' प्रशिक्षक श्रेष्ठले थपे, 'हामीलाई खासै गार्हो हुन्न । अलिकति फर्मेसन परिवर्तन गरेर खेल्ने छौ ।'
मनाङका मुख्य तीन खेलाडी नहुदा थ्री स्टारलाई भने केहि फाइदा हुनेछ । तर, थ्री स्टारले मनाङलाई कमजोर टिमको रुपमा लिने छैन । थ्री स्टार शतप्रतिशत जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
'मनाङको केहि खेलाडी छैन भनेर हामी सहज लिदैनौ । मनाङ एक कठिन टिम हो,' थ्री स्टारका प्रशिक्षक मेघ राज केसीले प्रि म्याच कन्फरेन्समा भने,'हाम्रो टिम हार रुचाउदैन । हामी जित्नका लागि नै खेल्छौ । राम्रो प्रयास गर्ने छौ । उनीहरु भन्दा बढी मेहेनत गरेर ३ अंक लिने छौं ।'
थ्री स्टार प्ले मेकर भूमिका निभाउन सक्ने खेलाडी बिक्रम लामाको पुनरागमनले थप बलियो बनेको छ । ९ महिनापछि टिममा फर्किएका कप्तान लामाले पहिलो खेलमै गोल गरेका थिए । जसले थ्री स्टार थप हौसिएको छ ।
यस्तै प्रशिक्षक केसीले लिगका लागि थ्री स्टारले एक लक्ष्य राखेर हिडेको कारण हरेक खेलमा ३ अंकको लागि मेहेनत गर्ने बताए ।
'लिग खेल्ने १३ नै बलियो छ । १३ वटै म्याचलाई फोकस गर्नेछौ । राम्रो नतिजा ल्याउनु छ भने उ भन्दा राम्रो खेल्नु पर्छ । हामी बिपक्षि भन्दा राम्रो खेल्ने छौ,' प्रशिक्षक केसीले भने ।