काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि दाबेदारको रुपमा हेरिएको सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबलाई तेस्रो चरणको खेल अगाडी खेलाडीको चोटले सताएको छ ।
लिगको साविक विजेता मनाङले तेस्रो चरणको खेलमा चिरप्रतिद्वन्दी रुस्लान थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्दैछ । लिगको महत्वपुर्ण खेल अगाडी उसलाई खेलाडीको चोट प्रमुख समस्याको रुपमा देखिएको छ ।
कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठ हातको चोटका कारण कम्तिमा तीन साता मैदान बाहिर छन् । फेस्टिबल ब्रेकपछि क्लबमा भित्राईएका मिडफिल्डर प्रकाश बुढाथोकीले पहिलो खेलमै हातमा गम्भिर चोट बोके । उनी ६ साता मैदान बाहिर रहने मनाङका प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
‘हाम्रा दुवै खेलाडी घाइते छन् । लगभग उनीहरु ६ साता मैदान बाहिर रहने छन् ।’ उनले बताए ।
मनाङका कप्तान सुजल दोस्रो चरणको खेल अगाडी सानो गौचरणमा अभ्यासको क्रममा लड्न पुगेका थिए । भारतको सिक्किममा भएको गभनर्स गोल्डकपको उपाधि मनाङलाई जिताएका सुजलले लिगको मुख्य खेलमा मैदान बाहिर बसेर बिताउनुपर्नेछ ।
दोस्रो चरणमा न्युरोड टिम एनआरटीविरुद्वको खेलमा घाईते भएका प्रकाश सुरुवाती मिनेटमै मैदानबाट बाहिरिएका थिए । घटनालगत्तै अस्पतालमा पुर्रयाईएका प्रकाशले समेत अधिकांश समय मैदान बाहिर बसेर मनाङको खेल हेर्नुपर्नेछ ।
प्रशिक्षक श्रेष्ठका अनुसार प्रकाशले अन्तिम ३ खेल खेल्ने सम्भावना छ भने सुजलले ४–५ खेलपछि मैदान फर्कनेछन् । सुजल सामान्य तयारीमा जुटिसकेको उनको खुलाए ।
थ्री स्टारविरुद्वको महत्वपुर्ण खेल अगाडी मनाङलाई कार्डले समेत सताएको छ । अग्रपङ्तीका मुख्य हतियार आफिज ओलावाले थ्री स्टारविरुद्धको खेलमा हुने छैनन् ।
सुरुवाती खेलमा ब्रिगेड ब्वाइजसंगको खेलमा पहेलो कार्ड खाएका उनले एनआरटीसंग समेत कार्ड पाएका थिए । लगातार दुई पहेलो कार्डका कारण उनी एक खेलको निलम्बनमा परेका हुन् । पछिल्ला दुई खेलमा दुई गोल गरेका उनी लिगकै उत्कृष्ट स्ट्राईकर हुन् ।
थ्री स्टारविरुद्वको खेल अगाडी मुख्य तीन खेलाडी घाईते भएपनि प्रशिक्षक श्रेष्ठले क्लबको बेन्च बलियो भएको दाबी गरे । खेलाडीको चोटलाई बुझेर क्लबले बलियो बेन्च बनाएको उनले बताए । डोना थापा, विमल राना र दिपक राईजस्ता खेलाडी बेन्चमा रहेको बताउदै प्रशिक्षक श्रेष्ठले कुनैपनि समय खेलमा नतिजा बदल्न सकिने विश्वास व्यक्त गर्छन् ।
बेन्चका खेलाडीले मनाङले मोफसलको प्रतियोगितामा आफुलाई बलियो सावित गरेको थियो ।
‘थ्री स्टारविरुद्ध पोजिसन चेन्ज गरेर खेल्नेछौ । हामीसंग भएका खेलाडीलाई मिल्ने रणनीतिका साथ खेल्नेछौ’ उनले भने । मनाङ र थ्री स्टारबीचको खेल भोली बिहिबार दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।