काठमाडौं । पल्सर शहिद स्मारक 'ए' डिभिजन लिगको दोस्रो चरणमा तीन क्लबले शत प्रतिशत जित निकाल्न सफल भए ।
गोल अन्तरका आधारमा रुस्लान थ्री स्टार क्लबले सुरुवाती अग्रता कायम गर्न सफल भयो । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब दोस्रो र सिएमजी संकटा क्लब तेस्रो स्थानमा रहे ।
तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरीको एपिएफ क्लबसंगै हिमालयन शेर्पा क्लबले ४ अंक जोड्न सफल भएका छन् ।
दुवै खेल बराबरी खेलेको मछिन्द्र क्लब आठौं स्थानमा छ । न्युरोड टिम एनआरटी र च्यासल युथ क्लब समान एक अंक जोड्दै क्रमश नवौं र दशौं स्थानमा छन् ।
प्रतियोगितामा सरस्वती युथ क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब अंक विहिन छन् ।
लिगको दोस्रो चरणको खेलमा थ्री स्टार हाबी बन्यो । खुसीका कुरो, थ्री स्टार कप्तान समेत रहेका बिक्रम लामाले करिब ९ महिनापछि मैदानमा उत्कृष्ट पुनरागमन जनाए । राष्ट्रिय टिमका मिडफिल्डर समेत रहेका बिक्रमले पुनरागमन खेलमा गोल समेत गर्न सफल भए ।
लिग जति अगाडी बढ्दै छ, थ्री स्टारले सोही अनुसार प्रर्दशनमा समेत सुधार ल्याएको छ । लिगको दोस्रो खेलमा थ्री स्टारका सुनिल वल छाएका थिए । ब्रिगेट ब्वाईजविरुद्वको खेलमा म्यान अफ दी म्याच भएका सुनिलले आफु उत्कृष्ट फर्ममा भएको जनाउ समेत दिएका छन् ।
लिगको दोस्रो चरण, मनाङका लागि दुर्भाग्य सावित बन्यो । कप्तान समेत रहेका सुजल श्रेष्ठलाई लिग अगाडी गुमाएको मनाङले फेस्टिबल ब्रेकपछि क्लबमा अनुबन्धन गरिएका प्रकाश बुढाथोकीलाई पहिलो खेलबाट गुमाउने पक्का बनेको छ ।
भरपर्दा दुई मिडफिल्डरको अभावले मनाङलाई लिग चरणको तेस्रो खेलमा थ्री स्टारविरुद्वको भिडन्तमा गाह्रो पर्न सक्छ । मनाङलाई अर्को समस्या, आक्रमक स्ट्राईकर ओलावाले अफिज दोहोरो पहेलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा देखिने छैनन् ।
यता, संकटा क्लबले पनि लिग चरणको तेस्रो खेलमा दुई पँहेलो कार्डको कारण आफ्ना मुख्य खेलाडी गुमाउने छ । विदेशी स्ट्राइकर म्याक्सवेल इल्लोनले जावलाखेलविरुद्वको खेलमा पाएको रातो कार्डले संकटालाई तेस्रो चरणको खेलमा समस्या पार्न सक्नेछ ।
लिगको तेस्रो चरणको खेल मंसिर ६ गते सुरु हुनेछ ।
पहिलो दिन दुई खेल हुनेछ, सरस्वती र एनआरटीबीच । दोस्रो खेलमा भिड्नेछन्, चिरपरिचित सिग्नेचर मनाङ र रुस्लान थ्री स्टार क्लब ।
दोस्रो दिन ७ गते तीन खेल हुनेछ । ब्रिगेड ब्बाइज र एपिएफ, पुलिस र आर्मी तथा मछिन्द्र र संकटाबीच ।
तेस्रो चरणको अन्तिम दिन हुने दुई खेलमा फ्रेन्डस् र सरस्वती तथा जाउलाखेल र हिमालयन शेर्पा भिड्नेछन् ।