काठमाडौं । सीएमजी संकटा क्लबका मुख्य प्रशिक्षक सल्यान खड्कीले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा अफिसियलहरु (रेफ्री) ले खराब निर्णय गरिरहेको बताएका छन् ।
सोमबार जावलाखेल युथ क्लबविरुद्धको खेलपछि बोल्दै प्रशिक्षक खड्कीले रेफ्रीको निर्णयप्रति आपत्ती जनाएका हुन् । उक्त खेल संकटाले २ – ० ले जितेको थियो ।
तर, प्रशिक्षक खड्कीले खेलमा रेफ्रीले गलत निर्णय गर्दै आफ्ना खेलाडीलाई रातो कार्ड दिएको आरोप लगाए । उनले रेफ्रीको यहिँ गल्ती रहिरहे लिग खेल्नु र खेलाउनुको अर्थ नरहेको समेत बताए ।
'कुनैपनि खेलाडीले पहेलो कार्ड खाएपछि दोस्रो पटक उसलाई चेतवानी हुन्छ । तर, दुई मिनेट भित्र दुई पहेलो कार्ड देखाईयो । पहिलो कार्ड देखाउनु पर्ने आवश्यकता नै थिएन्,' प्रशिक्षक श्रेष्ठले पोष्ट म्याचमा भने, 'यस्तै तरिका हो भने यहाँ लिग संचालन गर्नुको अर्थ नै छैन ।'
जावलाखेलविरुद्ध खेलको २० औं मिनेटमा एलोन म्याक्सवेलले रातो कार्ड पाएका थिए । जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई फल गरेपछि रेफ्री कविन ब्यन्जनकारले म्याक्सवेललाई रातो कार्ड देखाउदै मैदानबाट बाहिर पठाएका थिए । तर, दोस्रो हाफमा खेलमा फर्कदै संकटाले जित निकालेको थियो ।
यस्तै प्रशिक्षक खड्कीले सहज जित निकाल्ने खेलमा रेफ्रीको कारणले कठिन भएको समेत बताए ।
'हामीले सहजै ३ अंक जोड्छौं भन्ने सोचेका थियौ । तर, रेफ्रीको कारणले हामीलाई कठिन भयो । खेलाडीहरुले राम्रो खेल्यो । ९० मिनेट कठिन खेल खेल्दै जित निकाल्न सफल भयौँ,' प्रशिक्षक खड्कीले भने ।