काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले जावलाखेल युथ क्लब र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले खेलमा गोलका लागि उत्कृष्ट अवसर सिर्जना गर्न सकिरहेको छैनन् ।
पहिलो हाफ सकिदा संकटा १० खेलाडीमा समेटिएको छ । खेलको १९ औं मिनेटमा एलोन म्यास्कवेलले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएपछि संकटा १० खेलाडीमा समेटिएको हो । जारी लिगको यो पहिलो रातो कार्ड हो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिग चरणको दोस्रो खेलमा उत्रदै गर्दा संकटा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । जावलाखेल भने पहिलो जितको खोजिमा छ । दुवै टोलीमा उमेर समुहका खेलाडीको बाहुल्यता छ ।
पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टिम पुलिससंग १–० ले स्तब्ध बनेको थियो । एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
काठमाडौंको हलचोक मैदान हुने तेस्रो खेलमा हिमालयन शेर्पा र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।