काठमाडौं । ठुलो चोट बोकेपछि नेपाली फुटबलमा विरलै खेलाडी मैदान फर्कन्छन् । जति फर्कन्छन्, पुरानै वेग र गति सायदै भेटेका छन् ।
के बिक्रम लामा यसमा अपवाद होलान् ?
आईतबार थ्री स्टार जर्सीमा कप्तान सहित मैदान फर्किएका बिक्रमले खेलबाटै धेरै प्रश्नको जवाफ दिएका छन् ।
उनकै शब्दमा खेल जीवनको नयाँ अध्यायलाई शानदार तरिकाले सुरुवात गरेका छन् ।
गत बर्षको अन्तिम तिर बुढासुब्बा गोल्डकपको फाईनलमा पुलिसविरुद्वको खेलमा तेज तामाङसंग ठोक्किएपछि उनको दायाँ खुट्टा भाँचिएको थियो । तत्काल उनलाई सोही रात काठमाडौं झिकाएर ग्रान्डी अस्पतालमा भर्ना गरियो । खुट्टाको शल्यक्रिया गरियो । उनी करिब ९ महिना मैदानबाट बाहिर रहे ।
जब उनी मैदान फर्कनका लागि तयार थिए । धेरैलाई डर थियो, बिक्रमले कसरी खेल्छ ?
कारण, खुट्टा भाँचिएर मैदान फर्किएका खेलाडीहरु प्राय सतर्क भएर खेल्ने गर्छन् । खेलाडीलाई पुरानो लय समाउनै मुश्किल पर्छ । तर आईतबार ब्रिगेड ब्वाईजविरुद्वको खेलमा बिक्रमले घरेलु फुटबलमा जसरी पुनरागमन गरे, सबैलाई आश्चर्यमा पारिदिएका छन् ।
मिडफिल्डबाट सेन्टर डिफेन्समा देखिएका बिक्रमले प्रशिक्षकले दिएको जिम्मेवारी पुरा गरे । अन्तिम समयमा सुनिल बलको लोभलाग्दो क्रममा उत्तिकै शक्तिशाली हेड गोल गरे । उनकै गोलसंगै थ्रीस्टारले खेल ५–१ ले जित्न सफल भयो ।
‘बिक्रमले उत्कृष्ट र राम्रो कमब्याक गरेको छ । पहिले भन्दा अझ बलियो र उत्कृष्ट बनेर आएको छ ।’ खेलपछि क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले भने ।
‘उसलाई खोली भएको ठाँउमा स्थान दिएको थिए । नयाँ भुमिका दिएको थिए । दिएको जिम्मेवारी उसले पुरा गरेको छ ।’ बिक्रमको खेलको प्रशंसा गर्दै केसीले भने ।
बिक्रमले नियमित खेल्ने पक्का भएको बताउदै उनले आवश्यकता अनुसारको भुमिका बिक्रमलाई दिने प्रष्ट पारे ।
‘चोटबाट गुज्रिएका खेलाडीलाई मैदान फर्कदा निकै ठुलो मानसिक दबाब हुन्छ । क्लब र प्रशिक्षकको रुपमा हामीले उसलाई राम्रो कमब्याक गराउन सफल भएका छौ ।’ प्रशिक्षक केसीले थपे ।
खेलाडीले चोट बोकेपछि सम्पर्कमा नआउने नेपाली फुटबल क्लबको चरित्र हो । थ्रीस्टार त्यसमा अपबाद बन्यो । क्लबले बिक्रमको उपचारमा झण्डै १० लाख बढी खर्च गरेको छ । यसको प्रष्ट चित्र आउन बाँकी छ । तर एउटा खेलाडीको उपचारमा क्लबले गरेको यो खर्च अहिलेसम्मकै धेरै हुन सक्छ । यसको छुट्टै कथा लेखिने छ ।