काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा करिब ८ महिनापछि मैदान फर्कदै छन् । खुट्टाको चोटका कारण ८ महिना मैदान बाहिर रहेका बिक्रम पुर्ण रुपमा निको भएर मैदान फर्कन लागेका हुन् ।
गत बर्षको अन्तिममा बुढासुब्बा गोल्डकपको फाईनलमा बिक्रमले पुलिसविरुद्धको खेलमा चोट बोकेका थिए । विपक्षी खेलाडीसंग ठोक्किदाँ उनको खुट्टा भाँचिएको थियो । लगत्तै उनलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । खुट्टाको सफल सल्यक्रियापछि उनलाई चिकित्सकले करिब ७ महिना आराम गर्नुपर्ने बताएका थिए ।
‘आजबाट अर्को नयाँ खेल जिवनको अध्याय सुरु गर्दैछु ।’ उनले खेलपाटीसंग भने, ‘म मेहनत गर्नेछु । कति खेल्ने भन्दा पनि कसरी खेल्ने कुरा महत्वपुर्ण छ ।’
मैदान फर्कने दिन कुरेर बसेको बताउँदै बिक्रमले आफुलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको खुलाए ।
‘यही दिन कुरिरहेको थिए । खेल्न सक्छ भन्ने कुराको सबैमा आभाष दिलाउनु छ ।’ उनले भने । थ्रीस्टार क्लबका कप्तान समेत रहेका बिक्रमले प्रशिक्षकको सल्लाह अनुसार आफु मैदान उत्रन लागेको बताए ।
‘प्रशिक्षकले नै अब तिमी खेल्न तयार भयौ भनेपछि मैदान उत्रन लागेको हुँ ।’ उनले भने । थ्रीस्टारले आज लिग चरणको दोस्रो खेलमा ब्रिगेट ब्वाईजसंग प्रतिस्पर्धा गर्दैछ ।