काठमाडौं । ब्रिगेड ब्वाईजले पहिलो खेलमा उपाधि दाबेदार मनाङ मर्स्याङदी क्लबमाथि बलियो चुनौती पेश गरेको थियो । मनाङविरुद्वको खेलमा सुरुवाती अग्रता बनाएको ब्रिगेडले भलै त्यसलाई जोगाउन भने सकेन ।
आईतबार लिगको दोस्रो चरणको खेलमा रुस्लान थ्रीस्टारविरुद्व उत्रदै गर्दा ब्रिगेटको लक्ष्य सोही प्रर्दशनलाई दोहर्याउनु हुनेछ । ललितपुरे डर्बीको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।
पहिलो खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाईजले मनाङसंग पराजय ब्यहोरेको थियो ।
थ्रीस्टारका लागि खुसीको कुरा, राष्ट्रिय टिमका मिडफिल्डर बिक्रम लामा आजको खेलबाट मैदान फर्कदै छन् । चोटका कारण करिब ८ महिना मैदान बाहिर रहेका बिक्रम सफल उपचार प्रक्रिया पुरा गरेर मैदान फर्कन लागेका हुन् ।
लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेर समुहका खेलाडी आबद्व ब्रिगेटले चुनौती पस्किनेछ ।
थ्रीस्टारमा राष्ट्रिय टिमबाट पुर्व कप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बल लगायतका खेलाडी समावेश छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले तिहार लगत्तै तयारीमा जुटेकाले राम्रो प्रर्दशन गर्ने बताएका छन् ।
‘राम्रो तयारी भएको छ । हाम्रो टिम विगत १० महिनाबाटसँगै छ ।’ उनले बताए । ब्रिगेड ब्वाइजलाई सामान्य नसोच्ने उनको भनाई छ । ‘सबै टिम यहाँ बराबरी छन् । हामी तीन अंकका लागि खेल्छौ ।’ उनले थपे ।
व्रिगेड ब्बाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले मनाङविरुद्धको गल्तीलाई सच्चाएर अगाडी बढ्ने बताए । ‘मनाङविरुद्ध धेरै गल्ती गर्याै । यसलाई सुधार गरेर तयारी गरेका छौ ।’ उनले भने ।