काठमाडौं । ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालका ओलम्पियनहरुबीच मंगलबार पुनर्मिलन भएको छ ।
नेपाल ओलम्पियन संघले आयोजना गरेको विशेष कार्यक्रममा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुबीच पुनर्मिलन भएको हो ।
काठमाडौंको रोयल सिंगे होटलमा आयोजित ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरु सहभागी थिए ।
नेपालमा समर ओलम्पिकका ८४ र युथ ओलम्पिकका ४ गरि कुल ८८ ओलम्पियन रहेका छन् । जसमा ९ ओलम्पियनको निधन भईसकेको छ ।
यस्तै कार्यक्रममा अग्रज १२ ओलम्पियनलाई सम्मान गरिएको थियो । सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर,जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन्।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, महानायक राजेश हमाल,कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।