काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को दुई केन्द्रिय सदस्यको टुङ्गो अर्को साधारण सभाबाट मात्र टुङ्गो लाग्ने भएको छ ।
सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुङ्गो अर्को साधारण सभाले लगाउने भएको हो ।
१३ सदस्यीय खुल्ला केन्द्रिय सदस्यमा मनिष जोशीले ४८, अनिल मल्लले ४७, रबिन्द्र चन्दले ४६, विकास नारायण श्रेष्ठले ४४, भोजराज शाहीले ४४, महेन्द्र क्षेत्रीले ४४, पुरुषोत्तम थापाले ४३, रमेश ब्यन्जनकारले ४३, मनिराज विष्टले ४२, टिका लामाले ४१, भरतबुढ थापाले ४० मत प्राप्त गर्दै निर्वाचित भए । दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे । बराबर मत प्राप्त गरेका चार जनाको टुङ्गो आसन्न साधारण सभाले लगाउने गरि निर्णय भएको छ ।
'एन्फा विधान र फिफा प्रतिनिधिको सुझाव अनुसार बराबर मत प्राप्त गर्ने चार मध्य दुई सदस्यको टुङ्गो एन्फाको आसन्न साधारण सभाले लगाउनेछ ।' निर्वाचन कमिटीका एक सदस्यले भने ।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि सोमबार निर्वाचन भएको थियो । एन्फाको नयाँ नेतृत्वमा पंकजबिक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भए । उनकै प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । खड्काले शिक्षित पराजुलीलाई पराजित गरे ।
चार उपाध्यक्षमा नेम्वाङ प्यानलका दावा लामा, विराजजंग शाही, दिपक खतिवडा र शेर्पा प्यानलबाट दिर्घबहादुर केसी कुमार निर्वाचित भए ।
महिला सदस्यमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भए ।