काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङले पहिलो बैठकबाट पछिल्लो समय देखिएको खेलाडी विवादको विषयमा निर्णय गर्ने बताएका छन् ।
एन्फा अध्यक्षमा निर्वाचित भएपछि संचारकर्मीसँग कुरा गर्दै नेम्बाङले खेलाडीको विवादबारे छानबिन समितिको प्रतिवेदन हेरेर निर्णय गरिने बताए ।
'हामी यो खेलाडी विवाद पहिलो बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन हेर्छौं त्यसमा पर्याप्त छलफल गर्छौं ।त्यसपछि हामी त्यो समस्याको समाधान गर्छौं,' अध्यक्ष नेम्बाङले भने ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
उक्त विवादको सत्यतथ्य पहिचान गर्न एन्फाले छानबिन समिति गठन गरेको थियो ।
नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन सदस्सीय समितिले एन्फालाई प्रतिवेदन बुझाईसकेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै नेम्बाङले पराजित प्यानललाई समेत संगालेर अघि बढ्ने बताए ।
'उँहाहरु पराजय हुनु भएको छैन । उपविजयी हुनु भएको छ । नेपाली फुटबल विकासका लागि उँहाहरुको सुझाब संगालेर अघि बढ्ने छौँ,' उनले भने ।