काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला बनाउने योजना रहेको बताएका छन् ।
आइतबार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगको भेटमा मेयर बालेनले सिसडोलको फोहोर व्यवस्थापन गरी रंगशाला र पार्क बनाउने योजना रहेको बताएका हुन् ।
'महानगरका क्लबसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भेटमा भनेका छन्, 'सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर फुटबल रंगशाला र पार्क बनाउन चाहन्छौं।'
महानगरले महानगरका ए डिभिजन क्लबलाई बार्षिक १० लाख दिने गरेको छ।
भेटमा नेम्बाङले नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको बताए।
‘फुटबलको विकास र कार्यक्रम सञ्चालन गर्न महानगरसँग सहकार्य गर्न तयार छौं। सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं,' नेम्बाङले भने ।
एन्फा निर्वाचन अघि नेम्बाङले मेयर बालेनसँग भेट गरेका हुन् । भोलि सोमबार हुने एन्फा निर्वाचनमा उनी अध्यक्षका लागि उम्मेदवार छन् ।