काठमाडौं । नेपाल ट्राईयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्राईयाथलनको ब्यक्तिगततर्फको उपाधि बिजेन श्रेष्ठले जितेका छन् ।
बिजेनको यो दोश्रो उपाधि हो । उनले यस अघि पनि यो उपाधि जितिसकेका छन् ।
बोडे, मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोश्रो स्थानमा बिशाल के.सी. र तेश्रो स्थानमा अमग्य श्रेष्ठ रहे ।
ट्राईयाथलन संघसंग आवद्ध ब्यक्तिहरुका विच आयोजना भएको प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ्ग र १ कि.मि. दौड रहेको थियो ।
प्रतियोगिताको रिले तर्फ अभिनाष श्रेष्ठ, अभिषेक शाक्य र ईजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पार्यो । दोश्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेश्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल ट्राईयाथन संघका उपाध्यक्ष धीरज प्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा नेपाल ट्राईयाथलन संघले आफ्नो उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नती गरेकोमा सिंहलाई प्रशंसा पत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो ।
प्रतियोगितामा करिव १०० जनाको सहभागिता रहेको थियो ।