काठमाडौं । नेपाल ओलम्पियन संघले नेपालका ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलन कार्यक्रम आयोजना गरिने जनाएको छ ।
पुनर्मिलन कार्यक्रमसँगै ओलम्पिक दिवसको अवसरमा अन्य विविध ५ कार्यक्रम आयोजना गरिने संघका अध्यक्ष दिपक विष्टले जानकारी गराए । संघले दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रम गरिने जनाएको छ।
संघले असार ७ गते मंगलबार पुनर्मिलन कार्यक्रम हुने जनाएको छ । पुनर्मिलन कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरुलाई एउटै थलोमा उपस्थित हुने बताईएको छ । साथै ती मध्ये अग्रज ओलम्पियनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको संघले जनाएको छ ।
त्यस्तै संघले असार ५ गते आइतबार एभीएम स्कुल ललितपुरमा संघ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बीच मैत्रीपूर्ण टेबल टेनिस हुनेछ ।
असार ६ गते सोमबार एन्फा कम्प्लेक्समा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल हुनेछ ।
त्यस्तै असार ८ गते बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम हुनेछ । जसमा जेम्स स्कुलमा विद्यार्थी र ओलम्पियनबीच अन्तरक्रिया कार्यक्रम हुनेछ ।
असार ९ गते बिहीबार नेपाल ओलम्पिक कमिटिले आयोजना गर्ने ओलम्पिक दिवसमा उपस्थिति हुने संघले जनाएको छ ।