काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश-नेपाल अन्तराष्ट्रिय सिरिज खेल्ने नेपाली पुरुष रग्बी टोलीको बिदाइ गरिएको छ ।
नेपाल रग्बी संघले शुक्रबार २५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको हो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवहाक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरि र सचिव गोविन्द घिमिरेलगायतले बिदाइ गरे ।
बिदाइमा सदस्य सचिव घिसिङले रग्बी टिम खेल भएकोले टिम भावनामा रहेर खेल्न आग्रह गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
‘यो टिम गेम हो । एक जनाको प्रयासले मात्र जित्न सकिन्नँ । खेलाडीहरूले टिम खेलकै रूपमा एक अर्काबीच राम्रो सहकार्य गरे उत्कृष्ट नतिजा आउनेछ । यहाँहरूले त्यसतर्फ ध्यान दिएर जित्नु हुनेछ भन्नेमा म विश्वस्त छु,’ घिसिङले ।
नेपाली टोलीका कप्तान कृष्ण क्षेत्रीले नयाँ र युवा प्रतिभावान् खेलाडीको समिश्रणले टिम बलियो रहेकाले राम्रो प्रतिस्पर्धा गर्ने बताए ।
‘सिनियर खेलाडी यस पटक सात जना छौं । अधिकांश नयाँ खेलाडी छन् । सबै क्षमतावान् भएकाले राष्ट्रिय टिममा परेका हुन्,’ कप्तान कृष्णले भने, ‘हामीले एक महिनादेखि तयारी गरेका छौं । राम्रो चुनौती प्रस्तुत गर्नेमा आशावादी छु।’
संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको बताए ।
नेपाली टोली शनिबार ढाका प्रस्थान गर्ने छन् । सिरिजका लागि संघले २२ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपालले बंगलादेशविरुद्ध दुई सेभेन 'ए' साइड र एक १५ 'ए' साइड खेल खेल्नेछ ।
यस्तै संघले राष्ट्रिय टोलीको जर्सी प्रायोजन फिटवेल स्पोर्ट्स वेर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको छ । त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ ।
संघका कार्यवहाक अध्यक्ष दीपक देवकोटा र कम्पनीका डाइरेक्टर मुनाल भारतीबीच सोही अवसरमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
नेपाली टोली -
सुरज चौधरी, शेर बहादुर वली, बिक्रम भारती, रोशन घर्ति, निरोज कार्की, बिक्रम पुरी, नविन महर्जन, श्री राम श्रेष्ठ, बिराट श्रेष्ठ, बिबेश बासु, सन्जिब कुँवर, प्रेम बहादुर कोइराला, रमित बहादुर मल, यदु अधिकारी,अमर सिंह श्रेष्ठ, कृष्ण क्षेत्री, सुमन चौलागाई, पुजन फेवाली, जुकेन्द्र राई, राम किशोर चौधरी, सुजन कुमाल, हुतराज प्रधान
राज टंक गिरि - प्रशिक्षक
गोपाल क्षेत्री - म्यानेजर
लक्ष्मण अधिकारी - फिजियो