काठमाडौं । प्रथम राष्ट्रिय खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ ।
दुई दिने प्रतियोगिता सातदोबाटोस्थित तेक्वान्दो भवनमा आयोजना हुनेछ ।
प्रतियोगितामा विभिन्न जिल्ला, प्रदेश र विभागका ७ सय ४३ बढी खेलाडी सहभागी हुनेछन् ।
७० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा महिला र पुरुषमा समान ७/७ गरि १४ विधामा प्रतिस्पर्धा हुनेछ ।
यस अघि ग्योरुगीको प्रतियोगिता मात्र हुँदै आएको र पुम्सेको पहिलो पटक राष्ट्रिय प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।
यस प्रतियोगिता दक्षिण एसियाली र एसियाली खेलकुद र अन्य विभिन्न प्रतियोगिताका लागि खेलाडी पहिचान र छनोटको रुपमा रहेको छ ।
प्रतियोगिताबाट हरेक विधाका ७/७ जना खेलाडी छनोट गरिनेछ ।
यसै प्रतियोगिताबाट खेलाडीको रेकर्ड राख्न वरीयता सिस्टम राखिएको संघले जनाएको छ ।