फाप्ला मैदान र खेलग्राम पूर्वाधार निर्माण समितिको अध्यक्षमा शाही

काठमाडौं । सरकारले सुवाश शाहीलाई फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्तामा मनोनित गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो।
सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो।
विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति ९ सदस्यीय हुने व्यवस्था गरिएको थियो। जसको नेतृत्वका रुपमा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका परिकल्पनाकार शाहीलाई सरकारले अघि सारेको हो।
धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुंग्गो लागिसकेको थियो। फाप्लाको पहिचान देखि जग्गा प्राप्तिसम्म अनवरत रुपमा खटिएका शाही नेतृत्वको विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित विभिन्न खेलका पूर्वाधारहरु निर्माणको जिम्मेवारी हुनेछ।
शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान छेडिएको थियो। गौचरणका रुपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नती गर्दै सुरुमा स्थानीय लिगहरु सञ्चालन गरेका थिए। नेपालको पहिलो पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रुपमा धनगढी प्रिमियर लिग(डीपीएल)को आयोजना शाहीले फाप्लामै गराएपछि भने यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
त्यसयता लगातार फाप्लामा रंगशाला निर्माण अभियानमा खटिएका शाहीले स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारसँग नियमित समन्वयन गर्दै फाप्लालाई राष्ट्रिय प्राथमिकताको आयोजनामा पार्न सफल भएक थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि भने फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यले गती लिएको हो। कांग्रेस नेतृ तथा समाजसेवी आरजु राणा देउवाले सुदूरपश्चिमको मुहार फेरिदिने यस प्रोजेक्टलाई विशेष चासो दिदैँ प्राथमिकतामा राख्न विशेष पहल गरेसँग विकास समिति मोडेलमा फाप्ला निर्माण कार्यअघि बढेको हो।
अध्यक्ष शाहीले सरकारलाई धन्यवाद दिदैँ सुदूरपश्मिको ड्रिम प्रोजेक्टका रहेको फाप्लालाई अघि बढाउँन नेतृत्वदायी भूमिका खेल्नुहुने प्रधानमन्त्री देउवा र नेतृ राणा देउवाप्रति आभार व्यक्त गरे। उनले निर्धारित समयमा रंगशाला निर्माणको कार्य सम्पन्न गराउँन आफू दिनरात नभनि कार्य गर्ने प्रतिबद्धता जनाए।
‘फाप्लामा रंगशाला र खेलग्राम निर्माण कार्य अघि बढाउँने जिम्मेवारी मैले पूरा गर्नसक्छु भनेर विश्वास गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु,’ शाहीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘विकास समितिको गठनसँगै अब रंगशाला निर्माणको कामले गति लिनेछ। हामी निर्धारित समयमा रंगशाला निर्माणका प्रतिबद्ध छौं।’
गठन आदेश अनुसार पहिलो वैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ। यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ।
समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्नेछ।
शाहीको अध्यक्षतामा बनेको ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन्। त्यसबाहेक सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष तथा नेपाल सरकारले मनोनयन गरेकी महिला सदस्यमा स्थानीय कल्पना दिवाकोटी समितिको सदस्य हुनेछन् ।
परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्न खेलकुद मन्त्रालयले उपसचिव सरहका एकजना निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिने आदेशमा उल्लेख छ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)
