काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गत कमिसन फर पिस एन्ड स्पोर्ट्सको सहकार्यमा बागमती प्रदेश खेलकुद विकास परिषद्ले सोमबार ‘पिस थ्रु स्पोर्ट्स’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सोमबार आयोजना गरेको छ ।
दरबारमार्गस्थित होटल रोयल सिंगीमा भएको कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा प्याब्सन, एन प्याब्सन, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलगायतको सहभागिता थियो ।
अध्यक्ष श्रेष्ठले शान्तिको सन्देश प्रवाह गर्न खेलकुद क्षेत्रले पनि उदाहरणीय कार्य गर्दै आइरहेको बताउदै ओलम्पिकको मुभ्मेन्टलाई प्रभावकारी ढंगले प्रवद्र्धन गर्न एनओसीले विभिन्न कमिसन गठन गरेको जानकारी गराए ।
आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले विद्यालय पनि शान्ति क्षेत्र भएकाले खेलकुदका माध्यम कसरी शान्तिको सन्देश संचार गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कमिसन फर पिस एन्ड स्पोर्ट्सका अध्यक्ष रमेश महर्जन र महासचिव अन्जु भट्टराईले पनि कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए ।