काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा फेन्सिङ खेलबारे एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
एनएसजेफ एकेडेमीले 'नो योर गेम' अन्तर्गत शुक्रबार फेन्सिङ खेलसम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी एनओसीको भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए ।
कार्यक्रममा संंघका महासचिव सुजनलाल श्रेष्ठ, फेन्सिङका प्रमुख प्रशिक्षक अभिषेक कार्की र कोषाध्यक्ष अनुप कपालीले प्रशिक्षण दिए ।
श्रेष्ठले विश्व फेन्सिङ र नेपालको इतिहास, कार्कीले खेलको तीन विधा फोइल, इपी र साब्रेको प्राविधिक पक्ष र कपालीले स्कोरिङ सिस्टमबारे प्रशिक्षित गराए ।
सो प्रशिक्षण कार्यक्रमको उद्घाटन अवसरमा नेपाल ओलम्पिक कमिटी एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलका प्राविधिक पक्षबारे ज्ञान हुँदा मात्र पत्रकारले विश्लेषणात्मक समाचार उठान गर्ने भएकाले प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक हुने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी देवेन्द्रले कुनै पनि खेलबारे प्राविधिक पक्षको ज्ञान अभाव हुँदा ती खेलको रिपोटिङमा पत्रकारको चासो कम हुने उल्लेख गर्दै प्रशिक्षण पश्चात् फेन्सिङमा सो समस्या नआउने धारणा राखे ।
नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिललाल श्रेष्ठले निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपालमा यो खेललाई उचाइमा पु¥याएको बताए । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ सिरिजअन्तर्गत सञ्चालन गरेको यो पाँचौं खेलको प्रशिक्षण हो ।
यसअघि बक्सिङ, रक क्लाम्बिङ, ब्याडमिन्टन र भलिबल खेलबारे पत्रकारलाई प्रशिक्षण दिइएको थियो ।