काठमाडौं । दुबईमा आयोजना भएको बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिपमा पुरुष युगलतर्फ दिवस शंकर र एसिया जवेगुको जोडीले कास्य पदक जितेका छन् ।
सेमिफाइनलमा शंकर र जवेगुको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २-१ को सेटमा पराजित भएका थिए । शंकर र जवेगुको जोडी सेमिफाइनलमा १८-२१, २१-१४ र १६-२१ ले पराजित भए ।
त्यसअघि शंकर र जवेगुले पाँच चरणको खेल जितेर सेमिफाइनलमा स्थान बनाएका थिए । कास्यसँगै शंकर र जवेगुको जोडीले १ हजार दिराम प्राप्त गरेका छन् ।
प्रतियोगिताका लागि शंकर र जवेगु जेठ १ गते दुबई गएका थिए ।
यस्तै उक्त प्रतियोगितामा दुबई ब्याडमिन्टन एसोसिएसनद्वारा राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता प्राप्त प्रथम नेपाली महिला ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले फाइनलसम्मको खेलको अम्पायरिङ गरेकी थिइन् ।
गुल्मी घर भएकी बराल रोजगारीको सिलसिलामा दुबईमा छिन् । उनीले विभिन्न ब्याडमिन्टन प्रतियोगिताहरु खेल्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा समेत अम्पायरिङ गरिसकेकी छिन् ।