काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यस मध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् ।
अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा खड्काले पहिलो दिन ११ र दोश्रो दिन ८ खेल खेलाएका थिए । त्यस मध्ये उनले सिनियरको २ र क्याडेटको १ गरी ३ फाइनल खेलाएका थिए ।
सिनियरको पुरुष ६३ केजी र महिला ७३ केजीमुनिमा निर्णायकको भूमिका निर्वाह गरेका अशोकले क्याडेटतर्फ पुरुष ३८ केजीमुनि फाइनल खेलाएका थिए ।
आयोजक अस्ट्रियन तेक्वान्दो महासंघका अध्यक्ष डा. रेजा जादेह मोहम्मदले अशोकलाई उत्कृष्ट भएवापत मायाको चिनो प्रदान गरे । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् ।
खड्का पुम्से र पारा तेक्वान्दोको पनि निर्णायक हुन् ।