काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदान र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सक्ने बताएको छ ।
संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदानको निर्माण कार्य सक्ने र प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय खेल मैदानको निर्माण कार्यलाई पुरा गरिने बताए ।
सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा ‘हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर’ स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।
संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुरस्थित त्रिवि मैदानमा रात्रिकालिन खेल सञ्चालन गर्न सकिने गरि फ्लड लाईट राख्न आवश्यक बजेट विनियोजन गरिएको बताएका छन् ।
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी दिए । साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पुर्वाधारण निर्माण गरिने बताएका छन् ।
सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रंगशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।
अर्थमन्त्री शर्माले धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने उल्लेख गर्दै नीजि क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिने बताए ।
सरकारले विदेश क्लबलाई नेपालमा फ्रेन्चाईज लिग गर्न अनुकुल वातावरण निर्माण गरिने बताएको छ ।
अर्थमन्त्री शर्माले खेलकुद संघको संस्थागत क्षमता विकास गरि खेलकुद प्रतियोगिता आयोजनामा खेल संघको भुमिका प्रभावकारी बनाईने उल्लेख गर्दै खेल संघलाई दिदै आएको अनुदानलाई वृद्धि गरिएको बताएका छन् ।
सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको बताएको छ । सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीको विमाको प्रबन्ध गरिने व्यवस्था बजेटमा मिलाएको छ ।
नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममा महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ । एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजिवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
सरकारले खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन गरिएको छ ।