काठमाडौं । ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालको जुनियर विश्व वरीयता घटेको छ ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानबाट ७ स्थान तल झरेका छन् ।
नयाँ वरीयतामा प्रिन्स सातौं स्थान रहेका छन् । अप्रिलको वरीयतामा प्रिन्स शीर्ष स्थानमा रहेका थिए ।
पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा सहभागिता नभएको कारण उनको वरीयता घटेको हो ।
ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका थिए ।