काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा भक्तपुर र सिन्धुली जिल्ला फुटबल संघले मताधिकार प्रयोग नगर्ने भएका छन् ।
एन्फाको असार ६ गते हुने केन्द्रिय निर्वाचनमा भक्तपुर र सिन्धुलीले मत नहाल्ने भएका हुन् ।
सिन्धुली जिल्ला फुटबल संघले निर्धारित समयभित्र चुनाव गर्न नसकेको र केन्द्रले आह्वान गरेको चुनावमा समेत उपस्थित नभएकाले मताधिकारबाट बञ्चित भएको हो ।
भक्तपुरमा भने मताधिकारलाई लिएर विवाद भएपछि केन्द्रिय निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । एन्फाले भक्तपुर जिल्ला फुटबल संघमा हस्तक्षप गर्दै तदर्थ कमिटी गठन गरेको थियो ।
एन्फाको आसन्न निर्वाचनमा ४८ सदस्य जिल्लाबाट ४५ जिल्ला मताधिकार सहित निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था थियो । संखुवासभा, गोरखा र कास्कीले प्रदेशबाट मताधिकार पाउन सकेनन् । अब सिन्धुली र भक्तपुर समेत निर्वाचनमा सहभागी नहुने भएपछि ४३ जिल्लाले मात्र आसन्न निर्वाचनमा भोट हाल्ने भएका छन् ।
एन्फाको केन्द्रिय निर्वाचनमा जिल्लाबाट ४३, चार संघ, ए डिभिजनका १४, बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लब तथा चार राष्ट्रिय लिगमा छनोट भएका मोफसलका क्लबले मतदान गर्नेछ ।
एन्फाको नयाँ नेतृत्वका लागि कर्माछिरिङ शेर्पा र पंकजबिक्रम नेम्वाङ प्यानल सहित चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
एन्फा चुनाव : २१ पदमा ५४ जनाको उम्मेदवारी