काठमाडौं । निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएको छ ।
इपीएलले बिहीबार एक विज्ञप्ति निकाल्दै क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै मुद्दा दर्ता गरिएको जनाएको छ ।
क्यानले नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले नेपाल आयोजना हुने फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको थियो । नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डिपीएल) संचालन हुँदै आएको छ ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल टी-ट्वान्टी लिग गर्ने भएको कारण अन्य लिगलाई मान्यता नदिने जनाएको थियो । क्यानले लिगको मिति र लिग खेल्ने ६ वटा टिमको नाम समेत सार्वजनिक गरिसकेको छ ।
यस्तै इपीएलले क्यानले लिगका लागि नेपालको कानुन विपरित भारतीय कम्पनि सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको र उक्त कम्पनि अपारदर्शी रहेको जनाएको छ ।
क्यानले कमर्सियल र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।
सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउनेछ।