काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न चुनावका लागि नेतृत्वमा दाबी गरेका पंकज नेम्वाङ प्यानलले समेत उम्मेदवारी दर्ता गराएको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ समुहले बुधबार उम्मेदवारी दर्ता गराएको हो । नेम्वाङले यसअघिनै अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै सोही दिन उम्मेदवारी दर्ता गराएका थिए ।
पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका वीरबहादुर खड्का सहित उपाध्यक्षमा सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै खुल्ला सदस्य पदमा बुधबारनै पुरुषोत्तम थापा, प्रविण सुवाल, नेपाल कार्की, तपेश्वर राउत, विकासनारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, विजय घले, निरज खड्की, दीपेन्द्र धिमाल र मानदेव हजाराले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताको पहिलो दिननै नेम्वाङ निकटका भोजराज शाही, रविन्द्र चन्द र अनिल मल्लले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
सोमबार वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारीमा दर्ता गराएका थिए । उनले प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र बिज्ञानराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै शेर्पाको प्यानलबाट सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।