काठमाडौं । एसियन गेम्सको तयारी जेठ २४ गतेबाट सुरु गर्न प्रस्ताव गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)द्धारा गठिन हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सको तयारी जेठको अन्तिम साताबाट सुरु गर्न प्रस्ताव गरेको हो ।
चीनमा यसै वर्ष आयोजना हुने एसियन गेम्स स्थगित भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो ।
‘एसियन गेम्सको विशेष प्रशिक्षण थाल्न प्रस्ताव गरेका छौं । जेठको अन्तिम साताबाट तयारी अघि बढ्छ ।’ कमिटीका सचिव हिमालराज दाहालले खेलपाटीसँग भने ।
दाहालका अनुसार एसियन गेम्सका लागि छनोट सम्पन्न भएका खेलाडीलाई विशेष प्रशिक्षणमा राख्न प्रस्ताव गरिएको छ । ‘तत्काल बन्द प्रशिक्षण सुरु हुदैन । तर विशेष प्रशिक्षणको रुपमा तयारी अघि बढाउन प्रस्ताव छ ।’ उनले भने, ‘यसअघि साग गेम्सको तयारी जस्तै खेलाडीलाई दैनिक प्रशिक्षणमा राख्ने योजना हो ।’
तयारीको दौरान खेलाडीलाई यातायात र विशेष खुराकको ब्यवस्था राखेपले गर्नेछ । बजेटको ब्यवस्था हुने बित्तिकै प्रशिक्षणको काम अघि बढ्ने दाहाल बताउँछन् ।
राखेपले अन्तराष्ट्रिय रुपमा दरिलो सहभागीता र खेलाडीलाई बैज्ञानिक प्रशिक्षणको सुझाव दिन ७ सदस्यीय हाइ पर्ममेन्स कमिटी गठन गरेको छ ।
कमिटीमा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल बिज्ञ पार्थसारथी सेन गुप्ता र सुमन डिसी छन् । यस्तै कमिटीको सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहाल छन् ।
कमिटीको शनिबार बसेको बैठकले एसियन गेम्सको तयारी जेठको अन्तिम साताबाट अघि बढाउन सुझाव दिएको हो।
राखेपले अन्तराष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिमका खेलाडीलाई दैनिक प्रशिक्षणमा व्यस्त राख्ने योजना अघि सारेको छ । सोही अनुसार राखेप सदस्य सचिवमा आए लगत्तै टंकलाल घिसिङले हाइ पर्फमेन्स कमिटी गठन गरेर अन्तराष्ट्रिय प्रतियोगिताको तयारीको सन्दर्भमा काम थालेका थिए ।
कमिटीलेनै एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएर राखेपलाई प्रस्ताव गरेको थियो । सोही अनुसार सरकारले २१ औं संस्करणको एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको छ ।
नेपालले आसन्न एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।