काठमाडौं । त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मान बहादुर थापाले पहिलो संस्करणको प्रधानसेनापति अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेका छन् ।
जोमसोममा शनिबार पुरुषतर्फ १ घन्टा १५ मिनेट २ सेकेन्डको कोर्स रेकर्डसहित आर्मीका हिमाल र मान बहादुर च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ आर्मीकै वसन्त थारु र नवराज न्यौपाने दोस्रो भए । वसन्त र नवराजले १ घन्टा १७ मिनेट १६ सेकेन्डमा दूरी पूरा गरे । आर्मीकै कमल ओली र प्रेमसिंह मन्याल १ घन्टा २१ मिनेट ३० सेकेन्डसहित तेस्रो भए ।
महिलातर्फ हिमालयन गर्ल्सका हुमी बुढामगर र इन्द्रकला नेम्बाङले उपाधि हात पारे । हुमी र इन्द्रकलाले निर्धारित दुरी १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड बनाए ।
आर्मीका उषा खनाल र मन्जु कुमारी खड्काले १ घन्टा ५० मिनेट ३६ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे।
यस्तै अन्तर्राष्ट्रिय विधामा भारतीय आर्मीका पिट्टु शिव कृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटेले १ घन्टा ३५ मिनेट ६ सेकेन्डको समय निकाल्दै उपाधि जिते । विदेशी स्पर्धामा ब्रिटिश आर्मीका दुई र बंगलादेशी आर्मीका एक टिम पनि सहभागी थिए ।
एक टोलीमा दुई खेलाडी समावेश प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीले १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी पूरा गरेका थिए ।
२७ सय देखि ३२ सयको उचाईमा आयोजना भएको प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख प्राप्त गरे । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्ने सेनाले जनाएको छ ।
महिलाको विजेताले १ लाख र उपविजेताले ७५ हजार प्राप्त गरेका छन् ।
नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । जसमा ५ महिला टोली रहेका थिए ।