काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंजकबिक्रम नेम्वाङ्गले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एन्फाको आसन्न असार ६ गतेको निर्वाचनका लागि नेम्वाङ्गले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्वाङको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले प्रस्तावक बसेका थिए भने जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री समर्थक बसेका थिए । नेम्वाङ समेत झापा जिल्ला फुटबल संघबाट एन्फामा प्रतिनिधित्व गर्छन् ।
उनले शुक्रबारनै एक कार्यक्रमको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी घोषणा कार्यक्रम सकेर उनले एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शुक्रबार ठुलो दलबल सहित उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
नेम्वाङ्गको प्यानलबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेम्वाङ्गले आन्तरिक छलफल गरेर प्यानलबाट अन्य उम्मेदवारको जानकारी गराउने बताएका छन् ।