काठमाडौं । गण्डकी प्रदेश फुटबल संघले केन्द्रिय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ ।
संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्यबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।
बैठकले संघको केन्द्रिय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लम्जुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकारका लागि छनोट गरेको छ ।
प्रदेश अन्तर्गतका कास्की र गोरखा मताधिकारबाट बञ्चित हुने भएका छन् । दुवै जिल्लाको नवनिर्वाचित कमिटिमा एन्फाको संस्थापन पक्षसँग असन्तुष्ट पदाधिकारी आएका थिए ।
सोही कारण संस्थापन पक्षको पकड रहेको मानिएको गण्डकी प्रदेशमा अन्य ६ जिल्ला केन्द्रिय निर्वाचनका लागि मताधिकारका लागि छनोट भएका छन् ।
एन्फाले गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघ मध्य ६ जिल्ला फुटबल संघले मात्र मताधिकार सहित प्रतिनिधित्व गर्ने भएकाले बैशाख २४ गतेभित्र प्रतिनिधित्व गर्ने ६ जिल्लाको नाम पठाउन निर्देशन दिएको थियो ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । जसमा एन्फाका ४८ जिल्ला मध्य ४५ जिल्लाले मताधिकार सहित केन्द्रिय निर्वाचनमा भाग लिनेछन् ।
गण्डकीबाट कास्की र गोरखा बञ्चित हुँदा प्रदेश नम्बर एकबाट संखुवासभा मताधिकारबाट खुस्किएको छ ।