काठमाडौं । जिल्ला फुटबल संघ गोरखाको निर्वाचन बैशाख २० गते गर्ने सहमती बनेको छ ।
आईतबार बिहान बसेको बैठकले जिल्ला फुटबल संघको निर्वाचन बैशाख २० गते गर्ने सहमती गरेको हो ।
बैठकमा साधारण सभामा सहभागी हुने क्लबपनि सहभागी थिए । बैठकले जिल्लाको निर्वाचन बैशाख २९ गते गर्ने गरि अघि बढ्ने सहमती गरेको हो ।
एन्फाले गोरखाको निर्वाचन बैशाख १० गते गर्ने गरि समय निर्धारण गरेको थियो । तर प्राविधिक कारण देखाउँदै जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले एकलौटी तरिकाले अधिवेशन स्थगित गरेका थिए ।
एन्फाले बैशाख १४ गते चिठी लेख्दै जिल्ला निर्वाचन बैशाख १८ गतेभित्र सक्न निर्देशन दिएको थियो । सोही अनुसार आईतबार बिहान बसेको बैठकले २० गतेको नयाँ मिति निर्धारण गरेको हो ।
‘अध्यक्ष सहित सबै जना बैठक बसेको हो । निर्वाचन २० गते गर्ने सहमती बनेको छ । सोही अनुसार केन्द्रमा चिठी पठाउने तयारी छ ।’ जिल्लाका एक पदाधिकारीले भने, ‘विवाद गरेर जिल्ला संघलाई किन खारेज गर्ने भन्ने विषयमा सबैको एकमत छ ।’
एन्फाको ४८ जिल्ला मध्य गोरखा सहित सिन्धुली र सुर्खेतको जिल्ला निर्वाचनमा विवाद देखिएको छ । एन्फाले सुर्खेत, सिन्धुली र गोरखाको जिल्ला निर्वाचन बैशाख १८ गतेभित्र सक्न निर्देशन दिएको थियो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले पत्र लेख्दै विवादीत तीन जिल्लाको फुटबल संघको निर्वाचन बैशाख १८ गतेभित्र गराउन निर्देशन दिएका थिए । विभिन्न मितिमा निर्वाचन गराउन निर्देशन जारी गर्दा पनि जिल्ला फुटबल संघको निर्वाचन सम्पन्न गर्न नसकेको उल्लेख गर्दै एन्फाले बैशाख १८ गतेभित्र निर्वाचन गर्न÷गराउन निर्देशन जारी गरेको थियो ।
एन्फाले सिन्धुलीका लागि रबिन्द्रनाथ श्रेष्ठ, गोरखाका लागि लोकेन्द्र गुरुङ र सुर्खेतका लागि प्रकाश पंगेनीलाई केन्द्रिय पर्यवेक्षक तोकेको छ ।
विवादीत अन्य दुई जिल्लामा अझै सहमती बन्न सकेको छैन । विवादका कारण जिल्ला नेतृत्वले निर्वाचन गराउन सकेका छैनन् । जिल्ला निर्वाचन गराउन असफल भए केन्द्रले हस्तक्षप गरेर निर्वाचन गराउने तयारी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलपाटीलाई बताए ।