काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पबाट बिद्रोह गरेका खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बर्खास्तीलाई ‘बटमलाईन’ बनाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको छलफलमा वर्तमान समस्या समाधानका लागि अलमुताइरीलाई बर्खास्त गर्नुपर्ने खेलाडीको माग छ ।
रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालेपछि सिनियर खेलाडीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए । प्रशिक्षणको क्रममा बस्ने÷खानेको राम्रो प्रबन्ध हुनुपर्ने खेलाडीको मागलाई रोहितले प्रशिक्षक अलमुताईरी समक्ष राखेका थिए । सोही मागमा अलमुताईरीले चन्दलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए ।
चन्दलाई क्लोज क्याम्पबाट निकाल्ने निर्णयबारे सिनियर खेलाडीले अमलुताइरीसँग छलफल गर्न चाहेका थिए । तर अलमुताइरीले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्केर जान निर्देशन दिएका थिए । अलमुताइरीसँग पटक पटक संवाद गर्न खोज्दा अस्विकार गरेपछि खेलाडीहरु रातको समयमा होटल छाडेर निस्किएका थिए ।
खेलाडी–प्रशिक्षकबीच विवाद समाधानका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीसँग छलफल गरेका छन् । असन्तुष्ट खेलाडीले प्रशिक्षकको बर्खास्तीनै समस्या समाधानको विकल्प भएको बताएका छन् । ‘अध्यक्षले समाधानको मिलनबिन्दु के हुन्छ भनेर सोध्नु भएको छ । हामीले अहिलेको अवस्थामा प्रशिक्षकसँग काम गर्न सकिदैन भनेर भनेका छौं ।’ एक खेलाडीले भने ।
‘सन्की’ स्वभावका प्रशिक्षकको व्यहोराबाट पछिल्लो समय खेलाडीहरु आजित छन् । आफुप्रति फरक मत राख्ने खेलाडी र अफिसियललाई उनले तारो बनाउने गरेका थिए । मिडियासँग कुरा गरेकै कारण एक समय उनले सहायक प्रशिक्षकमा नियुक्त गरेका विष्णु गुरुङलाई राष्ट्रिय टिमबाट निकालेका थिए । सोही कारण उनले केही राम्रा खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालेका थिए । त्यही स्थानमा जुनियर खेलाडीलाई ल्याएर राष्ट्रिय टिमका खेलाडीमाथि दबाब सिर्जना गर्ने ‘माइन्ड गेम’ प्रशिक्षकले खेल्ने गरेको खेलाडीको गुनासो छ ।
उनले खेलाडीलाई सञ्चार माध्यममा बोल्न समेत रोक लगाएका छन् । सोही कारण मौरिससविरुद्धको खेलपछि कुनैपनि खेलाडीले सञ्चार माध्यममा आएर अन्तरवार्ता दिन मानेका छैनन् । मिडियामा अन्तरवर्ता आएको खण्डमा एसिया कप छनोटको टिममा नराख्ने अलमुताइरीको चेतावनी दिएका थिए ।
यता, अलुमताइरीले भने क्याम्प छाडेर हिडेका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने एन्फाका पदाधिकारीलाई बताएका छन् । सी र बी डिभिजन क्लबका जुनियर खेलाडीलाई उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका छन् । सिनियर खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टिम अघि बढाउने योजनामा अलमुताइरी देखिन्छन् ।
यो पनि .....
कप्तान किरण भन्छन्, 'प्रशिक्षकको व्यवहारप्रति मेरो असन्तुष्टि छ'
अलमुताईरीविरुद्ध सिनियर खेलाडीको बिद्रोह