काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अन्तिम चरणमा छ । आसन्न केन्द्रिय निर्वाचनका लागि अधिकांश जिल्लामा नयाँ कार्यसमिति गठन भएका छन् ।
केही जिल्लामा साधारण सभा सम्पन्न गर्न विवाद देखिएको छ । निर्वाचनमा पराजित हुने डरले जिल्ला फुटबल संघका अध्यक्षनै साधारण सभा स्थगित गरेर बेपत्ता हुने गरेका छन् । यस्तै अवस्था गोरखा जिल्ला फुटबल संघमा देखिएको छ ।
एन्फाले जिल्ला निर्वाचनका लागि समय तालिका बैशाख १ देखि १० गतेसम्मलाई निर्धारण गरेको थियो । तालिका अनुसार गोरखाको जिल्लाको निर्वाचन बैशाख १० गतेलाई तोकिएको थियो । तर अन्तिम समयमा प्राविधिक कारण देखाउँदै जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले अधिवेशन स्थगित गरि बेपत्ता भएका छन् । पूर्व निर्धारित तालिका अनुसार गत शनिबार क्लबका प्रतिनिधि साधारण सभाका लागि निस्किएका थिए । तर आफ्नो पक्षमा बहुमत पुग्ने नदेखिएपछि अध्यक्ष श्रेष्ठले प्राविधिक कारण देखाउँदै जिल्ला निर्वाचन स्थगित गरेर बेपत्ता भए । जिल्ला निर्वाचनमा भाग लिने ११ मध्य ६ क्लब आफ्नो विपक्षमा देखिएपछि उनले जिल्ला निर्वाचन स्थगित गरेका हुन् ।
साधारण सभा स्थगित भएपछि ६ क्लबले संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै विरोध गरे । साधारण सभामा सहभागी ११ क्लबमध्य मस्याङ्दी युवा क्लब, द ओसन क्लब, तालदेवी युवा क्लब, आदर्श युथ क्लब, चेपे आदर्श क्लब, हरमटारी क्लबले संयुक्त रुपमा बिज्ञप्ति निकालेर वर्तमान नेतृत्वको विरोध गरेका हुन् ।
जिल्ला उपाध्यक्ष विशाल गुरुङले पराजित हुने डरले अध्यक्षले एकलौटी रुपमा जिल्ला निर्वाचन स्थगित गरिएको आरोप लगाए । ‘आफ्नो पक्षमा बहुमत क्लब नदेखेपछि जिल्ला अध्यक्षले एकलौटी रुपमा निर्वाचन स्थगित गरे ।’ गुरुङले भने ।
असन्तुष्ट क्लबले जिल्ला निर्वाचनका लागि उपाध्यक्ष गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय समेत गरेका छन् । निर्वाचन स्थगित भएपछि असन्तुष्ट बनेका ६ क्लबले बैठक बसेर अध्यक्षको कदमबाट जिल्लाको फुटबललाई आँच पुर्याउने गतिविधि गरेको ठहर गरेको छ ।
जिल्ला अध्यक्ष श्रेष्ठले स्थानीय निर्वाचनको व्यस्तताका कारण निर्वाचन स्थगित गर्नुपरेको दाबी गर्छन् । ‘स्थानीय निर्वाचनले अहिले भ्याई नभ्याई छ । सोही कारण निर्वाचन नभएको हो । चाँडै नयाँ निर्वाचनको मिति तोक्छौं ।’ उनले खेलपाटीसँग भने । जिल्ला निर्वाचनमा मात्र ५ क्लब श्रेष्ठको पक्षमा देखिएका छन् । श्रेष्ठ जिल्ला फुटबल संघको नेतृत्वमा दोहरिन चाहन्छन् ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले गोरखाबाट ढिलो गरिमात्र कागजात केन्द्रमा आईपुगेको बताउँछन् ।
‘हामीले सबै जिल्लालाई आवश्यक कागजात समयमै उपलब्ध गराउन माग गर्दै चिठी पठाएका थियौं । तर बारम्बार ताकेदा गर्दा पनि अन्तिम दिनमात्र उहाँहरुको कागजात आईपुग्यो । सोही कारण समयमै प्रतिनिधि पठाउन सकेनौं ।’ उनले भने ।
तुलाधारका अनुसार जिल्लाबाट निर्वाचन सम्भव नभएको अवस्थामा केन्द्रले हस्तक्षप गरेर निर्वाचन गर्नेछ । ‘केन्द्रले आवश्यक कागजात हेर्ने हो । प्रतिनिधि माग गरेपछि पठाईदिने हो । तर जिल्लाबाट सम्भव भएन भने केन्द्रबाट हेर्छौं ।’ उनले भने ।
तुलाधरले चाँडै हेडक्वार्टरको बैठक बसेर स्थगित भएका जिल्लाको निर्वाचनको विषयमा निर्णय गरिने बताए ।