काठमाडौं । एमालेका खेलकुदका नेता पिताम्बर तिम्सिना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । तिम्सिना शनिबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटिका उप महासचिव रहेका तिम्सिनाले एमालेले आफ्नो क्षमताको अपहरण गरेको बताउँदै एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
उनी एमालेभित्र केपी ओली निकटका नेता मानिन्थे । उनी दुई पटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष समेत भए । राखेपको कार्यकारी प्रमुखको रुपमा सदस्य सचिव बन्न उनले निकै इच्छा गरेका थिए । तर ओलीनै राजनीतिको केन्द्रमा रहदा समेत तिम्सिनाले त्यो अवसर पाएनन् ।
‘केपी ओलीको नामले मेरो क्षमताको अपहरण गर्यो । ओली निकट भएकै कारण अवसर पाउन पनि सकिन । अब फरक पार्टीमा रहेर स्वतन्त्र ढङ्गले काम गर्न एकीकृत समाजवादी प्रवेश गरेको हुँ ।’ उनले खेलपाटीसँग भने ।
एक समय तिम्सिना खेलकुदको राजनीतिमा निकै सक्रिय र प्रभावशाली व्यक्तित्व मानिन्थे । पछिल्लो समय उनी खेलकुदमा निष्कृय जस्तै देखिन थालेका छन् ।
उनी लामो समय अमेरिका गएर पनि बसे । स्वदेश फर्किएर उनी पुन खेलकुदका गतिविधिमा देखिन थालेका छन् ।