काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गर्ने निर्णय गरेको छ ।
बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।
सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
राखेपको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित समेत गरेको छ ।
करिब तीन वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।