काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ ।
करिब तीन वर्षमा राखेपको बोर्ड बैठक पहिलो पटक बस्न लागेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि आह्वान गरेका हुन् ।
शुक्रबारको बोर्ड बैठकमा मुख्य दुई एजेण्डा तय गरिएका छन् । पहिलो नम्बर एजेण्डामा नवौं राष्ट्रिय खेलकुद र दोस्रो नम्बर बुँदा १९ औं एसियन गेम्सको सहभागीताको विषय उल्लेख छ ।
शुक्रबारको बैठकले नवौं राष्ट्रिय खेलकुदको आयोजनाका सम्बन्ध र एसियन गेम्सको सहभागीताको विषयमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण खेलकुद मन्त्री गहतराजले परिषद्को बोर्ड बैठक राख्न सकेका थिएनन् । बोर्ड सदस्यको विवाद अझै अदालतमै रहेका कारण आफुले पदमुक्त गरेका र नयाँ नियुक्त गरेका बोर्ड सदस्यलाई मन्त्री गहतराजले बैठकमा बोलाएका छैनन् । अदालतमा बोर्ड सदस्यको विषयमा अन्तिम फैसला आउन बाँकी छ ।
राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।
खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर खेलकुद सम्हालेको राजनीतिक नेतृत्वको असफलता कारण यसअघि राखेपको बोर्ड बैठक तीन वर्षमा एक पटक समेत बस्न सकेन ।
खेलकुदको नीति, योजना, बजेट र कार्यक्रम पास गर्न राखेपको बोर्ड बैठक आवश्यक मानिन्छ । तर खेलकुदको नेतृत्वले स्वेच्छिक हिसाबले खेलकुद सञ्चालन गर्ने रहर गर्दा राखेपको बोर्ड बैठक अन्यौलतमा पर्दै आएका थियो ।