काठमाडौं । जिल्ला फुटबल संघ कास्कीको अध्यक्षमा उज्वल रञ्जित निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बिनोद गुरुङलाई हराउँदै रञ्जित अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा रञ्जितमा १४ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी गुरुङले ७ मत पाए । जम्मा २२ क्लब सहभागी निर्वाचनमा एक मत बदर भएको थियो । अध्यक्षमा रञ्जित सहित नविन पुन र बिनोद गुरुङ नेतृत्वका प्रत्यासी थिए ।
यस्तै जिल्ला फुटबल संघको उपाध्यक्षमा जगतबहादुर थापा, नरप्रसाद गुरुङ र सुरेन गुरुङ निर्वाचित भए ।
उपाध्यक्षमा ५ जना प्रत्यासी थिए । उपाध्यक्षमा भएको निर्वाचनमा विष्णुकुमार गुरुङ, जगतबहादुर थापा, नरप्रसाद गुरुङ, सुरेन गुरुङ, खेमराज वरालले उम्मेदवारी दिएका थिए ।
महिला सदस्यमा शोभा बानियाँ र सदस्यमा सुनिल गायक, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सविन श्रेष्ठ, ओम गुरुङ र टेक प्रसाद गुरुङ निर्वाचित भए ।
एन्फा कास्कीमा नव निर्वाचित अध्यक्ष रञ्जित पंजक बिक्रम नेम्वाङ्ग पक्षका हुन् । कर्माछिरिङ शेर्पा निकट मानिएका नविन पुन पहिलो चरणबाटै बाहिरिएका थिए । पुनले पहिलो चरणमा ५ भोट प्राप्त गरेका थिए । पहिलो चरणमा रञ्जितले ९ र गुरुङले ७ मत प्राप्त गरेका थिए ।
एक समय कर्माछिरिङ शेर्पा निकट मानिएका गुरुङ पछिल्लो समय गण्डकी प्रदेशको फुटबल राजनीतिमा प्रभावी देखिएका छन् । तनहुँमा समेत उनी निकट सत्यभक्त पालिखे जिल्ला फुटबल संघको निर्वाचनमा निर्वाचित भए । भर्खरै पोखरामा सक्रिय देखिएका गुरुङलाई त्यहाँमा स्थानिय मतदाताले यस चुनावमा भने पत्याएनन् ।
पोखरामा निवर्तमान अध्यक्ष मिलन गुरुङका उम्मेदवार मानिएका नविन पुन पहिलो चरणबाटै बाहिरिए । विवादास्पद छविका मिलनविरुद्ध क्लबहरु उत्रिएपछि कर्मा निकटका नविन पुन पहिलो चरणमै पराजित बनेको हुन् ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ ।