काठमाडौं । प्रतिनिधि विवादलाई लिएर जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन स्थगित भएको छ ।
नेतृत्वका प्रत्यासी रविन चन्दको प्रतिनिधित्वको विषयमा विवाद भएपछि जिल्ला फुटबल संघको मंगलबारको निर्वाचित स्थगित भएको हो ।
चन्द शिरमोर क्लबबाट मनोनित भएर जिल्ला निर्वाचनमा सहभागी हुने विषय विवादमा आएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले कुनैपनि एक सदस्य संस्थाबाट प्रतिनिधि भए पश्चात अन्य सदस्य संस्थाको प्रतिनिधित्व गर्न नपाईने भएकाले चन्द मनोनित भएर आउन नमिल्ने भन्दै पत्र काटेका थिए ।
चन्द सी डिभिजन क्लब आरसी ३२ का अध्यक्ष हुन् । सी डिभिजनको प्रतिनिधि छनोटमा आरसी ३२ बाट सुरुवातमा चन्दले प्रतिनिधित्व गरेका थिए । तर विवादका कारण सुरुवातमा सीको प्रतिनिधि छनोट स्थगित गरिएको थियो । दोस्रो पटक भएको प्रतिनिधि छनोटमा आरसी ३२ बाट सुनील देवकोटाले प्रतिनिधित्व गरेका थिए ।
चन्दले आरसी ३२ बाट सुनिल देवकोटाले प्रतिनिधित्व गरेको भन्दै जिल्ला अधिवेशनमा आफु सहभागी हुन पाउने धारणा राख्दै आएका छन् । एन्फाका सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितका संयोजक किरण राईले चन्दले जिल्ला निर्वाचनमा सहभागी हुन पाउने भन्दै पत्र जारी गरेपछि जिल्ला निर्वाचनमा विवाद देखिएको हो ।
सोही कारण मंगलबारको जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन आगामी शनिबार हुने बताईएको छ ।
एन्फाको आसन्न केन्द्रिय निर्वाचनको रस्साकस्सी जिल्ला निर्वाचनमा देखिन थालेको छ । अध्यक्षका प्रत्यासी पंकजबिक्रम नेम्वाङ्ग समूहका चन्दले जिल्ला फुटबल संघको नेतृत्वमा दाबी गरेका छन् । आर सी ३२ ले पंकज समूहमा रहेर सी डिभिजनबाट केन्द्रिय प्रतिनिधिको रुपमा छनोट भएको थियो । संस्थापन पक्ष चन्दलाई रोक्दै आफु अनुकुलको नेतृत्व जिल्ला फुटबल संघमा स्थापित गराउने प्रयासमा छ । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ ।