काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार रहन अपिल गेका छन् ।
मंगलबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले सम्बन्धित सबै सरोकारवाला पक्ष नवौंको तयारीमा जुट्न अनुरोध गरे ।
‘सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने निर्णय गरिसकेको छ । सम्बन्धित सबैलाई नवौं राष्ट्रिय खेलकुदका लागि तयार रहन अपिल गर्छु ।’ उनले भने ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा निर्णय गर्न राखेपको बोर्ड बैठक शुक्रबार बस्दैछ । अहिले राखेपमा राष्ट्रिय खेलकुदको कार्यविधि, बजेट बनाउने काम तिव्र गतिमा अघि बढिरहेको छ ।