काठमाडौं । बुटवल श्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बैशाख ९ र १० गते हुने १० औं संस्करणको प्रतियोगितको तयारी पुरा भएको हो ।
आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशभित्र रहेका जिम, क्लब, संघ संस्थाबाट करिब १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने जनाएको छ । प्रतियोगिता बुटवलस्थित नबिन औद्योगिक माध्यमिक विद्यालयको सभाहलमा हुने छ ।
शारीरिक व्यायामका बारेमा सबैलाई सचेत गराउनका लागि आयोजना हुदै आएको प्रतियोगिता कोरोनाका कारण दुई वर्षदेखि हुन सकेको थिएन । कोभिडको महामारी कम भएसँगै प्रतियोगिता गर्न लागिको अध्यक्ष सितुप्रसाद श्रेष्ठले बताएका छन् ।
प्रतियोगिता ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा बढी तौल समूह गरी ६ वटा वजन समूहमा सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा एउटा जिमबाट एक वजन समूहमा मात्र एक खेलाडी गरी ६ जना ले मात्रै भाग लिन पाउने र एक जना टिम मेनेजरले टिमको प्रतिनिधित्व गर्नु पर्ने श्रेष्ठले बताए । रुपन्देही जिल्ला भन्दा बाहिरका खेलाडीको लागि आवास र खानाको लागि एक हजारको व्यवस्था रहेको उनले बताए ।
प्रतियोगिताको वजन समूहका बिजेता खेलाडीबीच हुने खूल्ला स्पर्धाको विजेता खेलाडीलाई नगद १ लाख सहित ट्रफि, उपहार र व्यानेट प्रदान गरिने आयोजकले बताएको छ । यस्तै उपविजेताल पाँच जनाले नगद १० हजारसहित ट्रफी र उपहार पाउने छन् ।
साथै प्रत्येक वजन समूूहमा द्वितीय र तृतीय हुने खेलाडीले क्रमश ८ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँ लाग्ने बताईएको छ ।
२०६३ सालदेखि रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवलश्री निरन्तर संचालन हुँदै आएको छ ।