काठमाडौं । तनहुँ जिल्ला फुटबल संघको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् ।
सोमबार आँबुखैरेनीमा भएको जिल्ला फुटबल संघको साधारण सभामा पालिखे अध्यक्षमा निर्वाचित भएका हुन् ।
सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिएपनि सफल हुन सकेन । त्यसपछि निर्वाचनमार्फत नेतृत्वको छिनोफानो गरिएको थियो ।
१० क्लब सहभागी निर्वाचनमा पालिखेले ६ र अध्यक्षका अर्का प्रत्यासी सोम थापाले ४ मत प्राप्त गरे ।
अध्यक्ष बाहेक कार्यसमितिको अन्य पदमा भने निर्विरोध पदाधिकारी चयन भए ।
उपाध्यक्षमा हरि तिमिल्सना, भिजन श्रेष्ठ र दिनेश केसी, महिला सदस्यमा सविता भट्टराई, सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा, जयप्रकाश केसी, किशोर पन्थ, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ र कुमार श्रेष्ठ सर्वसम्मत चयन भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रिय निर्वाचन अघि अहिले जिल्ला निर्वाचन धमाधम भैरहेका छन् ।