काठमाडौं । शेन वार्नको स्मृतिमा आयोजना भएको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश क्लब-११ ले विजयी हात पारेको छ ।
भैरहवास्थित सिदार्थनगर रंगशालामा भएको खेलमा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको हो ।
७७ रनको सामान्य लक्ष्य पछ्याएको उत्तर प्रदेशले ११ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर ७८ रन बनायो । उसको जितमा विवेक सिंहले अविजित ३३ रन बनाए । यस्तै शुभम चौधरीले अविजित १७ रन बनाउँदा राहिल कुमार १५ रनमा आउट भए ।
ट्यालेन्ट हन्टका राज बम र मोहमद मोशारफले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ट्यालेन्ट हन्टले ७७ रन बनाउँदा १८ ओभर २ बलमा अलआउट भयो । उसका एमडी उमरले २० तथा आशिष रतनमले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
ट्यालेन्ट हन्टलाई सस्तैमा समेट्न उत्तर प्रदेशका प्रिन्स शाहीले ४ तथा तेजस सिंहले ३ विकेट हात पारे ।
खेलमा प्लेअर अफ द म्याच उत्तर प्रदेशका प्रिन्स शाही घोषित भए ।